काठमाडौँ - मेरो पहिलो प्रेम


काठमाडौ, म जन्मेको सहर,
जसको मुटुको ढुकढुकी म मेरो मुटुमा सुन्छु,
त्यो उस्तै छैन आजकल,
अनि म गुनासो गर्छु,
के भयो मेरो काठमाडौ लाई ।
काठमाडौं मेरो पहिलो माया,
त्यो पहिलो माया जुन कसैले मुटु बाट मेट्न सक्दैन,
जुन कयौं प्रेम पछि पनि मन मस्तिष्क को सम्झनामा बाँचिरहन्छ,
जुन आफ्नो नाम याद नहुँदा समेत याद रहन्छ।
म उसको कुना काप्चा मा प्रेमी हरु ले हात समाए झैं हिँड्थे
जस्तै मन मा कुनै डर थियो यी हात छुट्ला भनेर,
जस्तै लाग्थ्यो की यो साथ टूट्ला भनेर
किनकि उसको साथ कहिले देखि थियो भन्न नसकिने गरेर पुरानो थियो,
जब साथी भन्ने शब्दको अर्थ समेत थाहा थिएन,
तब देखि काठमाडौ मेरो साथी थियो।
चाहे दुःख होस् चाहे सुखमा ।

अरु कोही साथी भन्ने नहुँदा,
म बसेको ठाउँ मा ऊ परेवा पठाउँथ्यो,
अनि म हेर्थेँ ती साना तर कहिले नभरिने पेटमा दाना भरेको,
ऊ हावालाई पठाउँथ्यो,
सायद उसलाई मेरो कपाल उडेको हेर्न मन लाग्थ्यो।
काठमाडौँ को मायालु धेरै थिए, छन् पनि,
ऊ त सबैको पहिलो नजरको प्रेम
तर मेरो लागि यसरी थियो की लाग्थ्यो ऊ मेरो मात्र हो।

जब मैले माया मान्छेमा भेट्टाएँ,
तब पनि ऊ थियो,
हाम्रो सम्बन्ध टुटेको थिएन,
हैन मैले उसलाई friend zone पनि गरेको थिइन,
र ऊ कहिल्यै पुरानो प्रेमी सरह नी व्यवहार नी गरेन,
काठमाडौं मलाई अझै माया गर्थ्यो
र मैले मेरो काठमाडौं लाई।
ऊ स्वागत गर्थ्यो  हामी दुबैलाई
आफ्नो हृदयमा
आफ्नो नसा सरि भएको गल्लीमा,
आफ्नो दरबार स्क्वायर मा,
जहाँ हामी आफ्नो मन साट्थ्यौँ

म उसलाई कुरि बस्दा मन्दिरको घन्टीको स्वरले मन्त्रमुग्ध पार्थ्यो,
चराको धुकुर-कु सुनाउँदै माया बर्साउँथ्यो फूल वर्षाए झैँ
काठमाडौँ ले मलाई कहिले माया गर्न छोडेन
र मैले काठमाडौं लाई।
तर जीवनलाई सधैं खुसी कहाँ मन्जुर हुन्छ र?
म काठमाडौं को मुटु बाट 
र मेरो माया म बाट टाढा हुन पर्ने भयो
र म फेरि एक्लिएँ।

आजकल जब म यहाँ फर्किन्छु,
म भत्किएको मक्किएको 
टेकै टेका मा अडिएको काठमाडौं मात्र देख्छु,
जसको जरा उसले नबोलाएको भुइँचालोले हल्लाइदिएको छ,
र बल्ल तल्ल उभिने कोसिसमा छ
तर उसले बिर्सेको छैन अझै मलाई,
ऊ अझै ती परेवा हरु पठाउँछ
र त्यो मन्दिरको घन्टीमा आफ्नो व्यथा बजाउँछ loudspeaker मा जस्तै,
उसको रुवाई मेरो कान मा पर्छ
अनि मेरो मन भक्कानिन्छ,
तर त्यही बेला त्यो विकासको नामको धूलो उड्छ
अनि हामी दुबैको घाँटी ठप्प
त्यो धुलोले अरूको कान आँखा नी बन्द गर्दिन्छ क्यारे,
हामी त्यहि भग्नावशेष मा बसेर रोएको कोही देख्दैनन् सुन्दैनन्,
या भनौँ आफूलाई अन्धा र बहिरा बनाउँछन्।

अचम्म लाग्छ कसरी आफ्नो मायालाई बिर्सी मान्छेहरू अन्तै माया भेटाउन सक्छन्,
जसरी काठमाडौं का मायालु भनाउँदाहरुले नोटमा भेटाउन थाले
र विकासको नाममा त्यो माया साट्न थाले,
तर कोसले बुझाओस त्यो बुझ् पचेका हरुलाई
की काठमाडौं आफैमा सोह्र श्रृंगार ले सजिएको छ,
यो न्यू योर्क या लस एन्जलस बन्न चाहँदैन
केवल आफ्नो गहना बचाउन चाहन्छ,
यो स्वीजरल्याण्ड को सपना देख्दैन
केवल आफ्नो मठ मन्दिरमा रमाउन चाहन्छ,
तर जो संग बचाउने शक्ति छ,
ती त फेयर एण्ड लभली को विक्रेता सरह यसलाई विश्वास दिलाउन चाहन्छ
की यो जस्तो छ ठिक छैन, 
र लाग्छन् आफ्नो स्वार्थका एजेण्डा बिकाउन।

तर हामीलाई थाहा छ,
काठमाडौँ लाई प्लास्टिक सर्जरी चाहिँदैन 
त्यो हिन्दी सिरियलमा जस्तो आफ्नो अनुहार फेरेर
त्यो स्विजरल्याण्ड जस्तो देखिन,
विकासको नाम मा बेचिन,
यो चाहन्छ त केवल आफ्नो भत्किन लागेको करङ को उपचार र चर्किएको घाउमा मलम
तर एस्को नाई नाई नारीको नाई जसरी लिइन्छ,
र हुन्छ हुन्छ मा अनुवाद गर्न खोजिन्छ,
आफ्नो स्वार्थमा लिप्त भई।

काठमाडौं रोइरहेछ बचाउने आशमा
र म विवश भई उभिइरहेछु माफी समेत माग्ने आँट गर्न नसकी,
काठमाडौं काठमाडौँ नभइसक्यो
यो विकाशको धूलो मा निस्सासिदै
विक्दैछ घिनलाग्दो राजनीतिमा तान्निदै,
र उसको जनतालाई सडकमा घिसार्दै गरेको विवश भई हेर्दै,
कोसैले त बचाउला भन्ने आस गर्दै
कुनै समयमा माया मा परेको भन्नेहरुले बचाउला भनेर कुर्दै,
फेरि पहिले जस्तो हुन्छु होला भन्ने सपना बुन्दै,
काठमाडाैँ कुरिरहेछ,
कतिन्जेल कुराउने त हामीले काठमाडौं लाई?

 दिन ३, एप्रिल ३  
Prompt -  त्यो ठाउँ कहाँ/कस्तो हुने गर्थ्यो: त्यस्तो ठाउँ सम्जिनुहोस जहाँ तपाईँ स्यानो छँदा जानु हुन्थ्यो, तर अहिले त्यो ठाउँ त्यहाँ छैन अथवा बदलिसक्यो, त्यस्तै भाव लाई समेटेर यौटा कविता लेख्नुहोस।   

Comments

Popular posts from this blog

A Tale of Long Distance Relationship

Depression: Synonym of your shadow

Disguised hate